काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउँदै २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको र अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने उल्लेख गरे । उनले शाह वंशले देशलाई बर्बाद बनाएको र राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गरे । उनले देशको इतिहास पछाडी फर्किन नसक्ने दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गरे ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०४:४२