घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा
लमजुङ ।
नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवद्र्धन तथा रजत जयन्ती समारोह’ भव्य रूपमा आयोजना हुने भएको छ ।
शनिबार बेशिसहरमा पत्रकार भेटघाट गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो ।
२०५७ सालमा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा वैशाख २३, २४, र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ ।
यो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ ।
घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिनेछन् ।
नेपाल सरकार, पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ ।
पर्यटन प्रवद्र्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू विशेष आकर्षणका रूपमा रहनेछन् ।
साथै, पर्यटकहरूलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे भ्रमण गराइनेछ ।
घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ। वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ ।
कार्यक्रम अन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक–निजी साझेदारीका अवसरहरूबारे छलफल गरिनेछ ।
समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेलहरू आयोजना गरिनेछन्। विजेताहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
फुटबल प्रतियोगितामा एम एस सी क्लब बालिया (भारत), त्रिवेणी युवा क्लब बेशिसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भुइखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नि फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बेशिसहर युथ सोसाइटी सहभागी हुनेछन् ।
घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य जमिन्द्रमान घले थिए । समितिका पदाधिकारी, जनप्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष घलेका अनुसार, “यो समारोहले घलेगाउँ मात्र नभई नेपालकै ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना सिर्जना गर्नेछ। स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु चिनाउने यो अवसरलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ।”
रजत जयन्ती समारोह नजिकिँदै गर्दा स्थानीयवासीहरू अत्यन्त उत्साहित छन्। विशेष छुट तथा आकर्षक अफरहरू उपलब्ध गराइने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
यो ऐतिहासिक समारोहले घलेगाउँलाई थप परिचित गराउने विश्वास गरिएको छ । स्थानीय समुदाय, व्यवसायीहरू तथा सम्बन्धित निकायहरूको सक्रिय सहभागिताले घलेगाउँलाई अझ आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०४:१७




