पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
लिगमा पहिलो प्रतिस्पर्धा गर्न लागेका दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रिँदैछन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन् ।
उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन् ।
यसअघि हिजो सम्पन्न खेलमा दुई पूर्वविजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए ।
दुई गोलको अग्रता जोगाउन नसक्दा साबिक विजेता ललितपुर काठमाडौंसँग २–२ को बराबरीमा रोकिएको थियो ।
शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् ।
प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार १०:१६