२०८३ साउन २१ गते बिहीबार

गोरखामा लागूऔषध सहित २ जना पक्राउ

गोरखामा लागूऔषध सहित २ जना पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ११:२१

दुवै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी थप अनुसन्धानका लागि म्याद थप अनुमती प्राप्त भएको छ ।

गोरखा ।

गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कबाट २ जना व्यक्तिहरू लागूऔषध सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार चैत्र १५ गते शुक्रबार दिउँसो साढे १ बजेको समयमा गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कमा २७ वर्षीय विशाल बसेललाई शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा लागूऔषध डाइजेपाम (Diazepam( २ एम्पुल, फेनेर्गन (Phenergan) २ एम्पुल, नुर्फिन (Nurfin) १ एम्पुल र आइपिपिएल (IPPL) १ एम्पुल फेला परेको थियो ।

सोधपुछमा विशाल बसेलले उक्त लागूऔषध गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका वडा नं. १, घर भई हाल गोरखा नगरपालिका वडा नं. ६, बस्ने नरेश बरामबाट खरिद गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।
पक्राउ परेका बसेलको बयानका आधारमा, प्रहरीले नरेश बरामको डेराकोठामा खानतलासी गर्दा २१ एम्पुल आइपीपीएल, ४६ एम्पुल नुर्फिन, ६७ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनेर्गन गरी जम्मा २०१ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी प्रबक्ता सुवेदीले बताए ।

नरेश बराम फरार रहेको थाहा पाएपछि, चैत्र १७ गते आइतबार ९ः४५ बजेको समयमा गोरखा नगरपालिका वडा नं. ६, हरमटारी स्थित फेला पारेर नियन्त्रणमा लिइएको छ ।

दुवै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी थप अनुसन्धानका लागि म्याद थप अनुमती प्राप्त भएको छ ।

अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ११:२१
हजुरको प्रतिक्रिया