२०८३ साउन २१ गते बिहीबार

नाङ्गो भइसकेको तीनकुने घटना झैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छः रवि लामिछाने

नाङ्गो भइसकेको तीनकुने घटना झैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छः रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार १२:३३

उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाए झैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् ।

मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । पर्साको बिलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको पनि उनले उल्लेख गरे ।

सभापति लामिछानेले भने, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद नै हो । सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रुपमा सम्माननीय सभामुखज्युलाई निवेदन नै दिएको थिएँ । कानूनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पतीलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतिको सम्पतीलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दुषित मनशाय राखि दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनु हुँदैन भनेर कानूनी कुरा राखेको थिएँ । एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झैझगडा नै गर्ने भन्ने हुँदैन । पहिलो संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रुप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्नुभयो । मैले उहाँलाई त्यसो भए आज सदनमा छलफल गरौँ न । एक पटकमा कति जनासम्मलाई निलम्बन गर्न पाइने हो ? किनभने मुद्दा टेकाइदिए त पुग्यो । मुद्दा किनारा लाग्न कति वर्ष लाग्छ थाहा छ नि । सरकारले भोलि प्रतिष्पर्धा हुँदा अर्को पार्टीको किन आफ्नै पार्टीको नेता प्रतिष्पर्धामा छ भने त्यसलाई सिध्याउने हतियार बन्यो । यो अवस्थामा नजाऔँ भनेर अनुरोध गरेको छु । उहाँले सकारात्मक रुपमा लिनुभयो । म यहीँ छु म थुनामा पनि छैन । मलाई चितवनका जनताले दुई दुई पटक मत दिएर जिताएर पठाएका छन् । सरकार फेरि यसो भन्दा थुन्ने कसरी भनेर लाग्ला ? त्यहाँ उता झ्न्ड्याएर राखेको छँदैछ । म एउटा कुरा भनेर जान्छु, बिहीबारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ । सम्भव छ ? पर्साको बिलम्बलाई तपाईंहरु र आम नागरिकहरुले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसाबले हेरेको छु । मैले सकेसम्म कानूनी प्रक्रियाहरु टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झ्न्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नाङ्गो भइसक्यो, देखिएको छैन ।’

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गरे । उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे । उनले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागे झैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताए ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार १२:३३
हजुरको प्रतिक्रिया