एजेन्सी ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको द्विपक्षीय भेटवार्ता तय भएको जानकारी दिएकी हुन् ।
थाइल्याण्डको बैंककमा शुक्रबारबाट शुरु हुने बिमस्टेक शिखर सम्मेलनको दौरान द्विपक्षीय भेट हुन लागेको हो । नेपाल र भारतका सरकार प्रमुखबीचको भेटवार्ताको प्रतिक्षा दुवै देशले गर्दै आएका छन् ।
प्रधानमन्त्री ओली प्रधानमन्त्री भएपछि भारतको औपचारिक भ्रमणमा जाने टुङ्गो नलागेपनि दुवै देशका प्रधानमन्त्रीबीच बैंककमा द्विपक्षीय वाता हुन लागेको जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भेट सकारात्मक र फलदायी हुने विश्वास लिएको बताइन् ।
उनले भनिन्, ‘भारत हाम्रो लागि धेरै महत्वपूर्ण छिमेकी हो । भारतसँग हाम्रो परम्परागत र सांस्कृतिक हिसावले पनि धेरै नजिकको नाता छ । यस्ता मिटिङहरुमा द्धिपक्षीय भेटवार्ताहरु हुन्छन् नै । हाम्रो प्रधानमन्त्रीज्यूको श्रीलंकन प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुँदैछ । त्यही दौरान भारतका प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुनसक्छ । यो असाधारण कुरा होइन । स्वाभाविक जस्तो लाग्छ । यस्तो भेटले दुई देशको आपसि हित, सम्झौता र समझदारीलाई अगाडि बढाएर लग्छ । यी भेटहरुलाई हामीले एकदम सकारात्मक दृष्टिले हेरेका छौं ।’
मन्त्री राणले नेपाल र थाइल्याण्ड सरकारबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको क्षेत्रमा महत्वपूर्ण सम्झौताहरु भएको पनि जानकारी दिइन् ।
उनले थाइल्याण्डको निजी क्षेत्रले समेत नेपालसँग मिलेर प्रविधिको क्षेत्रमा कामहरु गर्ने इच्छा जाहेर गरेको उनले बताइन् ।
उनले नेपालका र थाइल्याण्डका विभिन्न विश्वविद्यालयहरुबीच सम्झौतामा हस्ताक्षर भएको उल्लेख गर्दै सरकार त्यही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गरिन् ।
प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०९:११




