पोखरा ।
चैत्र शुक्ल पक्षको नवमी तिथि, अथार्त रामनवमी पर्व, सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी धुमधामका साथ रामनवमी पर्व मनाउँदै छन् ।
त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन् ।
अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ ।
उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको पुराणमा उल्लेख छ ।
कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।
रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने परम्परा छ ।
रामनवमीको अवसरमा उनको जन्मभूमि भारतस्थित अयोध्या र ससुराली नेपालस्थित जनकपुरक्षेत्रमा उत्सव चल्छ ।
रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ ।
चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।
मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ ।
आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्छ । यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् ।
रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०९:२५




