म्यादीको पर्यटन सूचना केन्द्रले म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा आउने पर्यटकलाई सहज भएको छ ।
जिल्ला भित्रको पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले बेनी नगरपालिका–८,कालिपुल बसपार्कको पर्यटन सूचना केन्द्रको निमार्ण गरिएको हो ।
सडकमार्ग हुदै म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा जाने पर्यटकलाई रुटमा पर्ने पर्यटकीयस्थलका बारेमा जानकारी सहित जिल्लाभित्र रहेका नयाँ र आर्कषक गन्तब्यस्थलका बारेमा सूचना दिने गरिएको छ । बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा २०७५ मा स्थापना गरिएको जनाइको छ ।
पर्यटक सूचना केन्द्रमा दैनिक ८ देखि १० जना नियमित आउने गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
सूचना केन्द्रमा आउने अधिकांस म्याग्दीको पर्यटकीयस्थलमा जाने र केही बेनीजोमसोम सडकखण्ड अन्तरगत पर्ने पर्यटकीयस्थलहरूका बारेमा जानकारी लिने गरेका छन् । सूचना केन्द्रमा म्याग्दीभित्रका सबै प्रकारको सूचनाहरू उपलब्ध छ, यहाँ म्याग्दीका पूराना र नयाँ फोटो सहित सबै गन्तब्यहरुका जानकारी छ ।
मोना अष्टे«लियाले आयोजना गरेको फोटो प्रतियोगितामा सहभागि भएका सहित २०२२ साल तिर खिचिएका म्याग्दीका फोटो तथा हरेक पालिकाको फरक फरक स्थानमा फोटो सहितको जानकारी राखिएको छ ।
म्याग्दीका पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी लिन सहज भएको म्याग्दीका पर्यटकीयस्थल घुम्न आएका शंकर ढकालले बताए ।
जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू, ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको छ ।
तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उक्त सूचना केन्द्र उद्घाटन गरेका थिए । सूचना केन्द्र बाहिर म्याग्दीमा उत्पादन हुने अर्गानिक सामानको कोशेली घर समेत रहेको छ ।
प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार १२:१७




