खेल मैदानको व्यवस्थापनलगायत एकेडेमीको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता
पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले सहारा एकेडेमीको निरिक्षण गरेका छन् ।
उपाध्यक्ष आचार्यले पोखरा महानगरपालिका वडानम्बर–१७ दोबिल्लामा रहेको सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको आइतबार निरिक्षण गरेका हुन् ।
सो अवसरमा बोल्दै आचार्यले फुटबलको विकास र प्रवद्धनमा काम गदै आएको क्लवले एकेडेमी संचालन गरेर खेलाडी उत्पादमा नमुना काम गरेको बताए ।
उनले क्लव स्तरबाट संचालनमा आएको एकेडेमीलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।
आर्थिक अवस्था कमजोर भएका बालकलाई आश्रय दिएर शिक्षाको साथै फुटबलको प्रशिक्षण समेत दिएर खेलकुदको क्षेत्रमा क्लवले सरकारलाई सहयोग गरेको आचार्यको भनाइ थियो ।
उनले खेल मैदानको व्यवस्थापन लगायत एकेडेमीको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
एकेडेमीमा १६ जिल्लाका ३० जना बालक अश्रित रहेको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए । २०५८ सालमा क्लबले एकेडेमी स्थापना गरेको थियो ।
नियमित आम्दानीको स्रोत नहुदाँ एकेडेमी संचालनमा समस्या आएको बरालले बताए ।
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बचेको रकमबाट एकेडेमी संचालन हुदैँ आए पनि आर्थिक मन्दिका कारण प्रतियोगिता घाटामा जाँदा एकेडेमी संचालनमा समेत आर्थिक अभाव व्यहोर्न परेको क्वलले जनाएको छ ।
क्लवले बाबुआमा गुमाएका विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरुको भर्ना लिने गरेको छ ।
एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाख रुपैयाँ दिने गरेको छ ।
प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ११:३४




