नेपालले कतारलाई ८ विकेटले हरायो
पोखरा ।
हङकङमा आजदेखि शुरू भएको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले विजयी शुरुवात गरेको छ ।
आज बिहान हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा कतारविरुद्ध आठ विकेटको जित निकालेको छ । पहिलो खेलमा सहज जीत हासिल गर्दै नेपालले विजयी शुरूवात गरेको हो ।

कतारले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे । आसिफ शेखले ३३ रन बनाए । बसिर अहमद ३० रनमा अविजित रहे ।

कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए । त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे ।
यसैगरी शहजाद जामिलले ३१, मुजिबउर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगा गणेश नागराजनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्दैछन् ।
अब नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका छ ।
तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।
सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन् । प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।
प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार १०:४३




