पोखरा
पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको हो । १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ र अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८ ओभर ४ बलमा १०२ रन बनाउँदा अल आउट भएको थियो । ग्रेट हिमालयका लागि उत्तम रंघु थापा मगरले सर्वाधिक १८ रन बनाए । बलिङमा गण्डकीका लागि कृष्ण पौडेलले सर्वाधिक ४ विकेट लिए ।
बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ । ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११९ रन बनायो । हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । बलिङमा चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८ ओभर १ बलमा ११८ रनमा अलआउट हुन पुग्यो । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेले । बलिङमा हिमालयनका लागि प्रकाश जैशीले सर्वाधिक ४ विकेट लिए ।
समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ ।
प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०७:२६




