२०८३ साउन २१ गते बिहीबार

आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरु सरकारले चरणवद्ध कार्यान्वयन गर्छः अर्थमन्त्री

आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरु सरकारले चरणवद्ध कार्यान्वयन गर्छः अर्थमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ०९:४१

उनले आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको बताए । आयोगले दिएको प्रतिवेदनलाई गहन रुपले अध्ययन गरेर प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

 

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरुलाई सरकारले चरणवद्ध रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसावले योजनाहरु बनाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको बताए । आयोगले दिएको प्रतिवेदनलाई गहन रुपले अध्ययन गरेर प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विगतमा आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने गरेको अनुभव रहेको भन्दै वर्तमान सरकारले दराज सजाउनका लागि आयोग नबनाएको बताए ।

उनले त्यसको महशुस छिटै देखिने पनि उल्लेख गरे । अर्थमन्त्री पौडेलका अनुसार आयोगको प्रतिवेदन राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरुबाट माथि निस्किन सहयोग हुने छ ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसावले हामीले योजना बनाउनेछौँ । सामान्यतया आयोगले कुन ओरिन्टेशनमा सोचेको छ होला भन्ने अनुमान गर्नको लागि कस्ता सुझावहरु समेटेको छ होला भन्ने अनुमान गर्नको लागि आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदनले पनि एउटा आधार दिएको छ । अन्तरिम प्रतिवेदनमा पनि केही महत्वपूर्ण विषयहरु यहाँहरुले संगठित गर्नुभएको थियो । ति चिजहरु क्रमशः कार्यान्वयन लगिरहेका छाँै । यो समग्र प्रतिवेदनलाई हामी गहिरो गरी अध्ययन गर्नेछौँ । प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने हिसावले हामी प्लानिङ गर्नेछौँ । विगतमा यदाकदा यस्तो पनि हुने गरेको छ की आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने त्यस्तो पनि अनुभव छ । यस पटक सरकारले दराज सजाउनको लागि आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका लागि थियो भन्नेकुरा स्थापित गर्ने सरकारको अभ्यास रहनेछ । राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरुबाट माथि निस्किन सहयोग पुग्ने काम हो ।’

उपप्रधानमन्त्री पौडेलले आयोगको प्रतिवेदनमा अर्थतन्त्रका समस्या चिन्न र चिर्नका लागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०९:४१
हजुरको प्रतिक्रिया