पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो संस्करणको विजेता काठमाडौं र दुई पटकको उपविजेता धनगढीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
काठमाडौं र धनगढी दुवैको समान ५ अंक छ तर काठमाडौंले ४ खेल खेलिसकेको छ भने धनगढीले ३ खेल खेलेको छ । गोलअन्तरमा अघि रहँदै धनगढी अंकतालिकामा तेस्रोमा छ भने काठमाडौं चौथोमा छ ।
काठमाडौं आजआफ्नो पाँचौं खेल खेल्दैछ भने धनगढी चौथो खेल खेल्दैछ । काठमाडौं र धनगढी दुवैले समान १ खेल जित्दा २ खेलमा बराबरी खेलेका छन् । काठमाडौं एक खेलमा पराजित भएको थियो ।
पहिलो खेलमा ललितपुर सिटीसँग र दोस्रो खेलमा झापा एफसीसँग बराबरी खेलेको काठमाडौं तेस्रो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको थियो भने चौथो खेलमा बुटवल लुम्बिनीलाई हराएर काठमाडौंले पहिलो जित हात पारेको थियो ।
यता पहिलो खेलमै बुटव लुम्बिनीलाई ४–१ ले हराउँदै सानदार सुरुवात गरेको धनगढीले त्यसपछिका दुई खेलमा भने गोल गर्न सकेको छैन । ललितपुर सिटी र पोखरा थण्डर्ससँग धनगढीले गोलरहित बराबरी खेलेको थियो ।
धनगढीको गोलअन्तर सबैभन्दा राम्रो छ । उसले अहिलेसम्म जम्मा १ गोल मात्र व्यहोरेको छ । उता ३ गोल गरेको काठमाडौंले ४ गोल व्यहोरेको छ ।
यसैबीच हिजो भएको खेलमा ललितपुरले एफसी चितवनलाई हराउँदै दोस्रो जित निकालेको छ ।
एफसी चितवनलाई २–१ गोलले पराजित गर्दै ललितपुर सिटी एफसी एनएसएलको शीर्ष स्थानमा उक्लेको छ ।
ललितपुरको जितका लागि इमोह इजिइल र मणिकुमार लामाले गोल गरेका थिए । हिजोका खेलमा मिडफिल्डर मणि चम्किए ।
यस सिजन दोस्रो जितपछि ललितपुर चितवनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । ललितपुर ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ ।
पहिलो हार व्यहोरेको चितवन ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार १०:२४




