घरेलु टोली नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दै
पोखरा ।
आईसीसी पुरूष यू–१९ पुरूष क्रिकेट विश्वकप एसिया छनोट आजदेखि सुरू हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन् । नेपालले युएइसँग तल्लो मूलपानी क्रिकेट मैदानमा खेल्दैछ भने अफगानिस्तान र ओमान माथिल्लो मैदानमा खेल्दैछन् ।
दुवै खेल बिहान ९ बजे सुरु हुँदैछन् । आजदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् ।
नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङले यु–१९ विश्वकप छनोट खेल्दै छन् ।
नेपालमा आजबाट सुरु हुने आइसिसी पुरुष यु–१९ विश्वकप छनोटमा घरेलु टोलीसहित पाँच राष्ट्रका कप्तानले राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरेका छन् ।
नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो ।
छनोट प्रतियोगिताअगाडि शनिबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपल्ट पनि सुखद नतिजाको आशा गरेका छन् ।
उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेल पनि खेलेको बताए । त्यस्तै युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरेका छन् ।
यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।
नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।
प्रतियोगिता अन्तर्गत नेपालले सोमबार ओमानसँग खेल्ने छ भने बुधबार हङकङ र आगामी शनिबार अफगानिस्तानको सामना गर्ने छ ।
सिंगल राउण्ड रोविनको आधारमा हुने खेलको शीर्ष स्थानमा रहने टोलीले जिम्बाबे र नामिबियामा आयोजना हुने आईसीसी पुरूष यू–१९ विश्वकप २०२६ मा स्थान बनाउने छ ।
प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०९:०६




