२०८३ साउन २१ गते बिहीबार

मिथिलासहित तराई\मधेसमा आज जुडशीतल पर्व मनाइँदै

मिथिलासहित तराई\मधेसमा आज जुडशीतल पर्व मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०९:२५

वैशाख संक्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

जनकपुर ।

जनकपुरधामसहित तराई\मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ ।

विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ ।

वैशाख संक्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् ।

मधेस प्रदेश सभा सदस्य रामआशिष यादव मधेस प्रदेश र मिथिला क्षेत्रमा जुडशितल पर्वको पौराणिक महत्व रहेको बताउंछन् । जुडशितल पर्व मानव सभ्यताको प्रतिकको रुपमा रहेको उनको भनाइ छ ।

उनका अनुसार पानी, माटो र संस्कृतिकलाई कसरी बचाउने भन्ने सन्देश जुड शितल पर्वले दिने गरेको छ ।

परिवारको ज्येष्ठ सदस्यले परिवारको कनिष्ठ सदस्यलाई चिसो पानी शिरमा छर्किएर आशिर्वाद लिने चलन रहेको उनले बताए । पछिल्लो समय जुडशितल पर्व मनाउने कुरा कम हुँदै गएको पनि उनले जिकिर गरे ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ ।

बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०९:२५
हजुरको प्रतिक्रिया