२०८३ साउन २१ गते बिहीबार

नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ: प्रधानमन्त्री ओली

नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ: प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०१:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने उल्लेख

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको उनले जिकिर गरे ।

त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने बताए ।

उनले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताए ।

नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने उल्लेख गरे ।

यसलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको बताए । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको पनि जिकिर गरे।

प्रधानमन्त्री ओलीले भने, ‘विश्वमा अहिले भएका १९३÷१९४ देशहरुमध्ये १९ वटा देश उपनिवेश कायम गर्नेहरु समेत १९ वटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भएपनि स्वतन्त्र रहेको थियो । त्यो हामीले गर्व गर्नुपर्छ । यो स्वाधिनता, यस स्वतन्त्रता, यस भौगोलिक अखण्डतालाई हामी अत्यन्त सम्मान गर्दछौँ, माया गर्दछौँ । यसलाई कायम राखेर छोड्दछौँ । सग्लो नेपाल हाम्रा सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्दछौँ । त्यो हाम्रो आजको पुस्ताको काम हो । न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान खुम्चिन । हामी केही पनि खुम्चिन दिँदैनौँ । तर त्यतिले मात्रै हामीलाई पुग्दैन । आन्तरिक रुपमा हामीले विकास गर्नुपर्दछ । पूर्वाधार, अरु विकास गर्नुपर्छ । त्यस काममा हामी लागेका छौँ । आर्थिक विकास, समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर यहाँ ल्याएर आयातित विभिन्न विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिएको छ नेपाललाई । त्यो हामीलाई मञ्जुर छैन हुनु हुँदैन । हुनेछैन । हामी नेपाललाई विकृतिहरुको डम्पिङ साइट सांस्कृतिक हिसावले पनि बन्न दिँदैनौँ, सामाजिक हिसावले पनि बन्न दिँदैनौँ । हाम्रो समाज एउटा सभ्य, सुसंस्कृत समाज हो । यो सभ्यता र संस्कृतिलाई कायम राखेर अगाडि बढाउँछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०१:५८
हजुरको प्रतिक्रिया