पाेखरा ।
गृहमन्त्री रमेश लेखकले मुलुकको संविधानलाई अस्थिर बनाउन खोजिने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्रीले संविधानमाथि खतरा पैदा गराउने कुनै पनि गतिविधिप्रति सरकारले कडा कदम चाल्ने बताए । उनले पूर्वराजावादी वा अन्य नाममा हुने संविधान विरोधी क्रियाकलापलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिए।
‘संविधानका लागि देशले ठूलो मूल्य चुकाएको छ’, मन्त्री लेखकले भने, ‘यसको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।’ सात दशकमा सातवटा संविधान बनेको स्मरण गर्दै उनले बारम्बार संविधान परिवर्तन गर्नु राम्रो संकेत नभएको उल्लेख गरे।
गृहमन्त्रीका अनुसार वर्तमान संविधान विश्वकै उत्कृष्ट लोकतान्त्रिक दस्तावेजमध्ये एक हो, जसको स्थायित्वमा सबैले ध्यान दिनुपर्छ । संविधान विरोधका नाममा हत्या, हिंसा वा अराजक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो।
वर्तमान संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा आवश्यक परे समसामयिक परिप्रेक्ष्यअनुसार सबै सरोकारवालासँगको सहमति जुटाएर संशोधन गर्न सकिने उनले स्पष्ट पारे।
सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, ३ वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।गोष्ठीमा गण्डकीका सबै जिल्लाबाट सुरक्षा समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको छ।
गण्डकी प्रदेश सरकारको समेत सहभागितामा हुने कार्यक्रममा प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति हुनेछन् । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत प्रस्तुति गर्नेछन् ।
गृहमन्त्री लेखक ३ दिन पोखरा रहने बताइएकाे छ।
प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०२:३४




