फाइनल प्रवेशका लागि पोखराले बुधबार धनगढी एफसीसँग प्रतिस्पर्धा गर्ने
पोखरा ।
एफसी चितवनलाई ३–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हिजो भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
पोखराको जितमा विदेशी खेलाडी जो आइडोले दुई गोल गरे भने एक गोल चितवनका डिफेन्डरको आत्मघाती गोलबाट सम्भव भयो ।
पोखराले यो जितसँगै लिग चरणमा चितवनसँग भोगेको हारको बदला समेत लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको १३ मिनेटभित्र तीन गोल गर्दै पोखराले चितवनलाई स्तब्ध बनायो ।
पहिलोपटक प्लेअफमा पुगेको चितवनको यात्रा भने एलिमिनेटरमै टुंगिएको छ । पोखराले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।
एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।
पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो ।
यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको छ ।
गत सिजन पोखरा अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो । पहिलो र दोस्रो दुवै क्वालिफायर हार्दै फाइनलमा पुग्नभने असफल भएको थियो ।
तेस्रो संस्करणको एनएसएल फुटबल प्रतियोगिताको फाइनल खेल भने आउँदो शनिबार हुने छ ।
प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार ०९:२३




