पोखराले उपाधिका लागि शनिबार ललितपुर सिटी एफसीसँग खेल्ने
पोखरा ।
क्वालिफायर टुमा धनगढी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो सम्पन्न दोस्रो क्वालिफायरमा स्टेफन समीर विनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स एनएसएलको फाइनलमा प्रवेश गरेको हो ।
योसँगै पोखराले अब उपाधिका लागि यही शनिबार साबिक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ ।
पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको थियो ।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल भएन । तर, इन्जुरी समयको दोस्रो मिनेटमा आयुष घलानको फ्रिकिकमार्फत आएको बललाई क्यामरुनी स्ट्राइकर स्टेफन समीर विनोङले गरेको हेड गोलले बराबरीतर्फ अग्रसर खेलमा पोखरा थन्डर्सले जित हात पारेको हो ।
पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । पोखरासँग हारपछि पछिल्ला दुई संस्करणमा फाइनल खेलेको धनगढी एफसीको लगातार तेस्रो पटक उपाधि भिडन्त गर्ने लक्ष्य अधुरो रह्यो ।
धनगढी एफसीले पछिल्ला दुवै संस्करणको फाइनलमा निराशा बेहोरेको थियो ।
गत संस्करणमा धनगढी एफसीले दुई पटक पछाडि परेर पनि पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाएको थियो, जुन एनएसएलको इतिहासमै अहिलेसम्मको एक मात्र पेनाल्टी सुटआउट हो ।
एनएसएलको फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०९:२२




