२०८३ साउन २१ गते बिहीबार

गाउँपालिकाको भवन नबनेकोप्रति काठेखोलाका स्थानीयको गुनासो

गाउँपालिकाको भवन नबनेकोप्रति काठेखोलाका स्थानीयको गुनासो

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ०९:२६

पछिल्लो समय काठेखोलाबाट बसाइँसराइ बढ्दै गएको भन्दै गाउँपालिकाले यसलाई रोक्नका लागि ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।
कृषिमा गाउँपालिकाले अनुदान दिएपनि त्यसको सदुपयोग हुन नसकेको उनीहरुको भनाइ छ ।

भाडाको घरबाट सेवा प्रवाह गर्दा लाखौँ रुपैयाँ खर्च, आफ्नै भवन बनाउनुपर्नेमा जोड

बागलुङ ।

बागलुङको काठेखोला गाउँपालिकाका स्थानीयले अहिलेसम्म पालिकाको भवन बन्न नसकेकोप्रति गुनासो गरेका छन् ।

स्थानीय सरकार स्थापना भएको लामो समयसम्म भाडाको घरबाट सेवा प्रवाह गर्दा लाखौँ रुपैयाँ खर्च भएको भन्दै आफ्नै भवन बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

काठेखोला गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले एक पटक सम्पन्न भएको योजनालाई गाउँपालिकाले पुनः मर्मत गर्नतर्फ ध्यान नदिँदा करोडौँका योजना काम नलाग्ने भएको गुनासो गरेका थिए ।

पछिल्लो समय काठेखोलाबाट बसाइँसराइ बढ्दै गएको भन्दै गाउँपालिकाले यसलाई रोक्नका लागि ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

कृषिमा गाउँपालिकाले अनुदान दिएपनि त्यसको सदुपयोग हुन नसकेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको उनीहरुले बताए ।

सार्वजनिक सुनुवाईमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

सडक, खानेपानी, कृषि, पर्यटन, पशुपालन लगायतका क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको उनको भनाइ छ ।

उनले जनताको सुझाव ग्रहण गरेर नै काम गर्ने बताउँदै कर्मचारीहरुले पनि जनतालाई सहजरुपमा सेवा दिनुपर्ने बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाको योजनालाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्याङ्कनलाई तीव्रता दिएको बताए ।

सीमित स्रोत साधनकाबीच जनताको असीमित आवश्यकतालाई पूरा गर्न एकै पटक नसकिने भन्दै विस्तारै क्रमैसँग काम गर्दै जाने उनको भनाइ छ ।

चालु आर्थिक वर्षको हालसम्म काठेखोला गाउँपालिकामा १९२ वटा योजना सम्झौता भएकोमा ९९ वटा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पुँजीगत खर्च ४९ प्रतिशत, चालु खर्च ६४ प्रतिशत र कुल वित्तिय प्रगति ५९ प्रतिशत भएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०९:२६
हजुरको प्रतिक्रिया