पोखरा ।
आज १९औं लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी दिवस मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ ।
२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।
२०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद पुनस्र्थापनाको घोषणा गरे ।
२०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत अन्त्य ग¥यो ।
२०७० मङ्सिर ४ गते दोस्रो संविधानसभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।
अहिले तीन तहका सरकार क्रियाशील छन् । संघीय, प्रादेशिक र पालिका सरकारले शासन सञ्चालन गरेका छन् ।
लोकतन्त्रपछिको दुई दशकमा राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा आमूल परिवर्तन भयो जसको मुख्य जग वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
तर लोकतन्त्रको उपलब्धि महत्त्वपूर्ण रहे पनि नागरिकमा निराशा र असन्तुष्टि भने कायमै छ ।
दलहरु नागरिकको समस्या समाधानमा भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ ।
तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले विकास र सुशासनमा ध्यान दिँदै अवस्था सुधारको लागि केन्द्रित हुन दलहरुलाई नागरिकले आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०९:२८




