२०८३ साउन २१ गते बिहीबार

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल: गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल: गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ०८:२०

पोखरा मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ आगामी वैशाख १७ गतेदेखि जेठ १६ गतेसम्म पोखरा महानगरपालिका–१७, बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा...

पोखरा
मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ आगामी वैशाख १७ गतेदेखि जेठ १६ गतेसम्म पोखरा महानगरपालिका–१७, बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा भव्य रूपमा सञ्चालन हुँदैछ। धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजित यो महायज्ञमा अर्बौं रामनाम लेखनको विशेष कार्यक्रम समावेश छ।

गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले यो महायज्ञको दर्शन गर्न पाउनु पूर्वजन्ममा गरेको पुण्यको फल भएको बताइन्। “कोटिहोम महायज्ञ धार्मिक अनुष्ठान मात्र नभई मानवताको सेवा, सामाजिक एकता र आध्यात्मिक जागरणको महान अवसर हो,” उनले भनिन्, “यसको दर्शन र सहभागिताले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ।”

४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ। सुश्री अनुराधा पाण्डेय र देवी प्रतिभाजीले कथा प्रबचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्। यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

महायज्ञमा सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०८:२०
हजुरको प्रतिक्रिया