च्याम्पियनसिपमा ६ वटा टीमको सहभागिता रहने
पोखरा ।
पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ को तयारी तीव्र पारिएको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा हुने च्याम्पियनसिपको तयारी ९० प्रतिशत पूरा भएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनसिपमा ६ वटा टीमको सहभागिता रहनेछ ।
विदेशका टीमहरुमा इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी प्रदेश टोली र नेपालका तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।
इरानी भलिबल टोलीका केही सदस्यहरू पोखरा आइसकेको गभर्नर अर्यालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको सन्दर्भमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्नार्थ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ र टाइगर कप भलिबल आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
क्लबले पोखरामा गत चैत १४ गते र काठमाण्डौमा चैत १८ गते पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइसकेको छ ।
प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०९:२४




