काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२÷८३) बैशाख १९ गते ल्याउने भएको छ ।
सोमबार राति प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रम बैशाख १९ गते ल्याउने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक व्यवस्था रहेको छ ।
मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति समक्ष सिफारिस अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले बजेटका प्राथमिकता र सिद्धान्त बारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ । संघीय संसद्को दुवै सदनमा अलग अलग छलफल हुने जनाइएको छ ।
करिब एक साता छलफल गरे पछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २८ गते दिने कार्यतालिका बनाइएको छ ।
यस्तै बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ ।
प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:०२




