पाेखरा । युरोकप फुटबल अन्तर्गत नकआउट चरणका खेलहरू आजदेखि शुरू हुँदैछन् । नकआउट चरणकाे पहिलो खेलमा आज वेल्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।
नेदरल्यान्डस्को अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ । पछिल्लोपटक सन् २०१६ को युरोकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको वेल्स आजकाे खेलमा डेनमार्कलाइ पराजित गर्दै इतिहासकाे पूनरावृति गर्न चाहन्छ ।
वेल्सकाे नकआउट चरण प्रवेशभने कठिन थियाे । जारी प्रतियोगिताको समूह चरणमा स्विचरल्यान्डसँग बराबरीमा रोकिएको वेल्सले टर्कीलाई हरायो भने इटालीसँग पराजित भएकाे थियाे ।
यता, समूह चरणमा सुरुवाती दुई खेल हारेको डेनमार्क अन्तिम खेलमा रुसविरुद्ध सनसनीपूर्ण ढंगले ४–१ को जित निकाल्दै दोस्रो चरणमा आइपुगेको हो ।
इटलीविरुद्धको समूह चरणको अन्तिम खेलमा रातो कार्ड खाएका कारण इथान अम्पाडु आजको खेलमा वेल्सका लागि उपलब्ध हुनेछैनन् । यसबाहेक अन्य सबै खेलाडी फिट अवस्थामा छन् । इटलीविरुद्धको खेलमा प्रशिक्षक पेजले स्ट्राइकर किफर मुर, डिफेन्डरहरु विन डेनिस र क्रिस मेपहामलाई सुरुवाती लाईनअपमा खेलाएका थिएनन् ।
यद्यपी, मुर र डेभिसलाई रोममा वैकल्पिक खेलाडीका रुपमा उतारिएको थियो । तर, आजको खेलमा उनीहरु मैदान फर्कनेछन् । स्टार खेलाडी ग्यारेथ बेल चम्कन सके आजको खेलमा वेल्स हाबी हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा उनले कुनै गोल गर्न सकेका छैनन् । तर, उनी कुनै पनि समय खेलको नतिजा उल्ट्याउनसक्ने खेलाडी हुन् । वेल्स उनकै असिस्टका कारण यहाँसम्म् आइपुगेकाे हाे । वेल्ससँग अनुभवी खेलाडी आरोन राम्से पनि छन् ।
यता, स्टार खेलाडी क्रिष्ट्रियन एरिक्सन सुरुवाती खेलमै मैदान ढलेकाले डेनमार्कको यात्रा केही जटिल बन्यो । तर, रुसविरुद्ध चार गोल गर्दै डेनमार्कका खेलाडीहरुले आत्मविश्वास फर्केको प्रमाणित गरिसकेका छन् । आन्द्रेस क्रिष्ट्रिन्सन,मिक्केन ड्याम्सगार्ड,युसुफ पाउलसनलगायत खेलाडी लयमा देखिएका छन् । त्यसलै डेनमार्कले वेल्सलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
डेनमार्कले पछिल्ला १० खेलमध्ये ६ खेल जितेको छ भने वेल्सले पछिल्ला १० मध्ये ४ खेलमात्र जितेको छ । डेनमार्क १९९२ को उपाधि विजेता पनि हो । वेल्सविरुद्धको खेल डेनमार्कले जित्ने सम्भाव्यता ५८ प्रतिशत प्रक्षेपण गरिएको छ । त्यस्तै, वेल्सले जित्नसक्ने सम्भाव्यता ४२ प्रतिशतमात्रै व्यक्त गरिएको छ ।
प्रकाशित मिति २०७८ असार १२ गते शनिबार ०५:०३




