आईएसएलको टोलीको नाम छिट्टै सार्वजनिक गरिने
पोखरा ।
तेस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल २०२५ को उपविजेता टोली पोखरा थन्डर्सले भारतको इन्डियन सुपर लिग (आईएसएल) का दुई टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
एनएसएलको उपविजेता पोखरा थन्डर्सलाई सम्मान गर्न पोखरा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
पोखरा थन्डर्सले खेल्ने आईएसएलको टोलीको नाम छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले टोलीलाई सम्मान गरेका थिए । महानगर प्रमुख धनराज आचार्यले टोलीको उच्च प्रदर्शनको प्रशंसा गर्दै खेलाडीहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।
आउँदा दिनमा खेलाडीहरूको हौसला बढाउन महानगरले सम्मान गरेको हो ।
साथै मेयर आचार्यले आउँदो संस्करणको प्रतियोगिताको तयारी गर्न टोलीलाई पोखरा रंगशाला उपलब्ध गराउन महानगरले व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।
गत शनिबार भएको एनएसएलको फाइनलमा पोखरा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो ।
प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०९:२८




