आगामी आवदेखि सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा बिस्तार गरिने
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताए । उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्नेव वक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो ।
उनले वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ ? भन्दै प्रश्न गरे । चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको उनको जिकिर छ ।
गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ वक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे ।
सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड चलाउनुपर्ने उनको भनाइ छ । उनले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बीमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गरे ।
यस्तै मन्त्री पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।
क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । उनले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको बताए ।
हालसम्म ६० वटा आधारभुत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।
निर्माणाधिन आधारभुत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको जिकिर गरे ।
प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०९:४५




