पोखरा
नवौं प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने भएको छ ।
नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभिए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको कारण पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको श्रेष्ठले बताए ।
उक्त निर्णयसँगै एनभिए लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीक कभर्ड हलमा जेठ ८ देखि १५ गतेसम्म हुनेछ । महासचिव श्रेष्ठकाअनुसार पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितातर्फ विजेता हुने टोलीले समान ८ लाख पाउनेछन् । उपविजेता हुने टोलीले ४ लाख र तेस्रो हुने टोलीले समान २ लाख पाउने संघले जनाएको छ ।
सर्वाेत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । यसअघि पोखराको इन्डोर हलमा बैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो ।
प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०४:४३




