२०८३ साउन २१ गते बिहीबार

सुन्दरबजारबाट बसाइँसराइ बढ्दो, आठ महिनामै १९८ जनाले छाडे नगर

सुन्दरबजारबाट बसाइँसराइ बढ्दो, आठ महिनामै १९८ जनाले छाडे नगर

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ वैशाख २५ गते बिहीबार ०३:४१

लमजुङ लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ । चालु आर्थिक वर्षको श्रावणदेखि चैत्र मसान्तसम्म मात्र ७२ घरधुरीका १ सय ९८ जनाले नगर छाडेका छन्। अघिल्लो आर्थिक वर्षको...

लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ ।

चालु आर्थिक वर्षको श्रावणदेखि चैत्र मसान्तसम्म मात्र ७२ घरधुरीका १ सय ९८ जनाले नगर छाडेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर भएको देखिएको छ ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआईएस अपरेटर सन्तोष पोख्रेलका अनुसार, अघिल्लो वर्ष २८ घरधुरीका ९३ जना नगरबाहिर गएका थिए भने यस वर्ष आठ महिनामै त्यसको दोब्बर संख्या बसाइँसराइ गरी गइसकेका छन्।

यद्यपि नगरमा अन्य क्षेत्रबाट आउनेको सङ्ख्या पनि केही बढेको छ । गत वर्ष १३ घरधुरीका २७ जना अन्यत्रबाट सुन्दरबजार आएका थिए भने यस वर्ष चैत्र मसान्तसम्म ३९ घरधुरीका १ सय २० जना नगरमा बसाइँसराइ गरी आएका छन्।
११ वटा वडा रहेको सुन्दरबजार नगरपालिकाका केही वडामा बजार विस्तार तीव्र गतिमा भइरहेको छ भने केही अझै विकट अवस्थामा छन्। सुविधाको पहुँच नभएका वडाबाट बजार क्षेत्रतर्फ, र बजार क्षेत्रबाट ठूला सहरतर्फ बसाइँसराइ गर्ने प्रवृत्ति बढ्दो छ ।
चालु वर्ष सबैभन्दा बढी बसाइँसराइ वडा नं. ३ बाट भएको छ, जहाँ १४ घरधुरीका ४१ जना अन्यत्र सरेका छन्। त्यस्तै वडा नं. ४ बाट १३ घरधुरीका ३५ जना, वडा नं. १ बाट ९ घरधुरीका ३२ जना र वडा नं. ७ बाट ८ घरधुरीका २० जना नगरबाहिर गएका छन्।
वडा नं. २ बाट ४ घरधुरीका ११ जना, वडा नं. ६ बाट ५ घरधुरीका ११ जना, वडा नं. ९ बाट ५ घरधुरीका ९ जना, र वडा नं. ११ बाट ५ घरधुरीका १४ जना अन्यत्र सरेका छन्।
त्यस्तै, वडा नं. ५ र १० बाट समान रूपमा २–२ घरधुरीका ६–६ जना नगरबाहिर गएका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितका अनुसार, शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीका अवसरको खोजी बसाइँसराइको मुख्य कारण हो ।

“स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने, प्राविधिक शिक्षालय र स्वास्थ्य सेवा विस्तार गर्ने तथा लगानीको वातावरण निर्माण गर्न सक्नुपर्छ,” उनले बताए।

नगर प्रमुख कृष्ण प्रसाद कोईरालाले पनि बसाइँसराइको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार, नगरबाट बाहिरिनेको सङ्ख्या भित्रिनेको भन्दा धेरै हुनु दीर्घकालीन दृष्टिले राम्रो होइन ।
“नगरपालिकाले रोजगारीका अवसर, शिक्षा, स्वास्थ्य र आधारभूत सेवा सहज बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ,” प्रमुख कोईरालाले बताए, “बसाइँसराइको कारणहरू पहिचान गरेर दीर्घकालीन समाधानमा जोड दिने गरी काम गरिरहेका छौं ।

बसाइँसराइको पछाडि पारिवारिक सम्पर्क, शिक्षा, स्वास्थ्य उपचार, व्यापार व्यवसाय र आर्थिक सम्भावनाजस्ता विविध सामाजिक तथा व्यक्तिगत कारण रहेका छन्। विशेषगरी ग्रामीण र दुर्गम वडाका बासिन्दाहरू बजार र सुविधा सम्पन्न स्थानतर्फ सर्ने प्रवृत्तिमा देखिएका छन्।

प्रकाशित मिति २०८२ वैशाख २५ गते बिहीबार ०३:४१
हजुरको प्रतिक्रिया