पोखरा
देशका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु हुने महानगरपालिकामा पोखरा महानगरपालिका परेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा महानगरहरूको बेरुजुको अवस्था अनुसार महानगरपालिकामा पोखरा सबैभन्दा धेरै र विराटनगर सबैभन्दा कम बेरुजु हुने महानगरपालिका बनेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा पोखरा महानगरको बेरुजु १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो । विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण भएको थियो । जसमध्ये २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ, जुन ०.३२ प्रतिशतमात्र हो ।
महानगरमध्ये दोस्रोमा ललितपुर महानगरको कम बेरुजु छ । ललितपुरको बेरुजु ०.५२ प्रतिशत अर्थात् १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । यस्तै चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको हो ।
राजधानी समेत रहेको देशकै ठूलो बजेट चलाउने स्थानीय तह काठमाडौं महानगरमा २.४७ प्रतिशत बेरुजु देखिएको छ । महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको हो । पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ ।
प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०७:५५




