२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै संकट छैन

प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै संकट छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ४ गते शनिबार १२:०४

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको बताएका छन् । शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कुनैपनि कुराको संकट...

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको बताएका छन् ।

शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । उनले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताए । उनले आफूहरुका प्रेरणाका श्रोत मदन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उनीहरुबाट सही ढंगले वैचारिक हिसाबले मार्गनिर्देशन भइरहेको बताए । प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकुल परिस्थिति भएको र अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए । महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसावले घेर्ने काम भइरहेको बताउँदै उनले नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘आजको परिस्थिति भनेको एउटा अनुकुल परिस्थिति हो । यस अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ । किनभने उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई क्याप्चर गर्न, युधिष्ठिरलाई बन्दी बनाउन खोज्थे, किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ । नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरुले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्नेकुरा बुझेका छन् । नेपालमा हामी सतर्क छौँ । नेकपा एमाले हरेक परिस्थितिको सामना गरेर अघि बढ्न तयार छ । हामी कहाँ केही कुराको पनि त्यस्तो क्राइसिस छैन । क्राइसिस छैन । तपाईंहरु एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नूस् । हामीलाई बाटो देखाउन माक्सवाद, लेनिनवाद छ, जनताको बहुदलीय जनवाद छ । हाम्रा प्रेरणाका श्रोत, मदन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु हुनुहुन्छ । जसले हामीलाई सही ढंगले मार्गनिर्देशन गरेका छन् वैचारिक रुपले ।’

प्रधानमन्त्री ओलीले आफूहरु सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गरे ।

प्रकाशित मिति २०८२ जेठ ४ गते शनिबार १२:०४
हजुरको प्रतिक्रिया