२ जनालाई उपचारका लागि चितवन लगियो
पोखरा ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ ।
लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् ।
पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका छन् ।
घाइते मध्ये खुसीजंग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ ।
अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्नेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो ।
अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए ।
तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए ।
अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको बताइएको छ ।
कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।
प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।
प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०८:५९




