पोखरा
पोखरा महानगरपालिका वडा नं ८ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखी ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिना भित्र पाउनु सवैखोपहरु प्राप्त गरेको सुनिश्चितता पश्चात् घोषणा कार्यक्रम गरिएको हो । पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु मार्फत घरधुरी सर्वेक्षण समेत गरिएको अधिकारीहरूले बताएका छन् ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूको सुरक्षित भविष्यमा लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताइन् । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको गुरुङले उल्लेख गरिन् । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनको भनाइ छ ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाको क्रममा रहेको बताए । पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडाको बढ्दो जनघनत्वका बाबजुद बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकहरूको चासो पनि उत्ति कै महत्त्वपूर्ण हुने उल्लेख गरे।
पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले नागरिकको समग्र स्वास्थ्यलाई व्यवस्थित र दिगो बनाउन बाल्य अवस्थाबाटै पाउनु पर्ने आधारभूत सेवाहरूको नियमिततामा जोड दिए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताए ।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले यस अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय राजनीतिक दलहरू, नागरिक समाज लगायतको भूमिका महत्त्वपूर्ण रहेको बताए । महानगरपालिकाका ३१ वटा वडाहरू पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भइसकेका छन् भने, बाँकी २ वटा वडाहरू घोषणा हुने क्रममा रहेका छन् । यही ज्येष्ठ १० गतेभित्र महानगरपालिकालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार १२:३५




