काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको भन्दै सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पारे ।
कर्पोरेशनले दिन नसकेको, पु¥याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने उनको भनाइ छ । सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको पनि उनले जानकारी गराए ।
उनले साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताए ।
मन्त्री भण्डारीले भने, “पछिल्लो पटक एउटा समाचार संप्रेषण भयो, साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएका कारणले आम उपभोक्तालाई थाइराइड जस्ता रोगहरु निम्तेको छ भन्नेखालका समाचार सुनियो । त्यही विषयमा पनि संस्थाको सिइओसँग छलफल गरेँ । यसमा आधिकारिक रुपबाट त्यसको परीक्षणको नमूना परीक्षण गरेर हाम्रो भान्सामा हामीले विक्रीप् वितरण गरेको आयोडिन नुनको पकेटलाई कसरी विक्री गर्दछन्, कति बढी आयोडिन छ ? सचेतना गर्नेकुरा, जानकारी गराउनुपर्ने कुरामा सम्बोधन गर्नुपर्नेछ भनेँ । त्यसको प्रत्येक वर्ष नमूना संकलन गरी परीक्षण गर्ने गरेको बताउनु भयो । आजको यो अत्यावश्यक वस्तुलाई सबै तहमा पहुँच पुग्ने, सरकारले दिइरहेको ढुवानी सहुलियत, कतै कतै फोटोमा आइराख्छ । नुनको लाइन अहिले पनि लागिराख्छ भन्ने किसिमको । ढुवानी सहुलियतले प्राप्त गरेको क्षेत्रबाट आवश्यक भन्दा बढी नुन प्राप्त गर्न र अन्यत्र सार्न पनि देखिने गरेको छ । हामीले परिवार संख्या काउण्ट गरेर एउटा परिवारमा कति व्यक्ति हुन्छन् र वर्षभर कति नुन आवश्यक हुन्छ भन्ने अनुमान गरेर नै वितरण प्रणालीका बारेमा स्थानीय प्रशासनसँग छलफल गरेर नै अघि बढेका छौँ । अहिले फेरि अनेक खालका अफवाह फैल्याएर लगिएको छ, यो आवश्यक छैन । सरकारले कुनै निर्णय गर्दा सुनिने देखिने गरी आउँछ नि । बजेटको पूर्वतयारीमा छौँ । नीति तथा कार्यक्रम आएको छ । यसको नियमन गर्ने मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसको म मन्त्री । हामीलाई दिइएको सिलिङ वा मन्त्रालयसँग रहेका महाशाखा, संस्थानहरु जे जति छन् । क्याबिनेट, मन्त्रालयले गर्ला । तर त्यो कहीँ कतै भएको छैन । तर समाचार संप्रेषण भएर आयो । यहाँ कुनै समस्या पनि भएको छैन । यसले दिन नसकेको, पु¥याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्ने हुन्छ, तर पनि त्यसरी समाचार प्रकाशित भएका छन् । ”
मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट ट्रेडिङ कर्पोरेशनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०९:१८




