२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश स्तरीय यु–१६ पुरुष क्रिकेट प्रतियोगिता सुरु

गण्डकी प्रदेश स्तरीय यु–१६ पुरुष क्रिकेट प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ०६:५२

पोखरा पोखरामा गण्डकी प्रदेश स्तरीय यु–१६ पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले विजयी सुरुआत गरेको छ । कास्कीले दिएको...

पोखरा
पोखरामा गण्डकी प्रदेश स्तरीय यु–१६ पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले विजयी सुरुआत गरेको छ । कास्कीले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागलुङ २१ ओभर ४ बलमा ९९ रनमा समेटियो । बागलुङका लागि आर्यप्रसिद्ध नेपाल र रमित कँडेलले समान १७ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कास्कीका अनिस राउतले सर्वाधिक ३ विकेट लिए । राज परियार, रिदम पाण्डेले समान २ र बिमोचन सापकोटा, मोहम्मद सभुदिन र सत्कार चालिसेले समान एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कास्की २१ ओभर ४ बलमा १३७ रनमा समेटिएको थियो । कास्कीका लागि सुरज अधिकारीले अर्धशतकीय इनिङ खेले । उनले ५८ बलमा ५३ रन प्रहार गरे । अनिस राउतले १४, अनिकेत गजुरेलले १५ र सोनु यादवले २० रनको योगदान दिएका थिए ।

बलिङमा बागलुङका क्रिस केसीले सर्वाधिक ३ विकेट लिए । रमित कँडेल र प्रिन्स शर्माले दुईदुई, सम्राट शर्मा र जितबहादुर विकले एकएक विकेट लिएका थिए । ३५ ओभरको खेल हुने भएपनि वर्षाका कारण खेल २२ ओभरमा छोट्याइएको थियो ।

जेठ १२ गतेसम्म चल्ने प्रतियोगितामा गण्डकीका ६ जिल्लाले सहभागिता जनाएका छन् । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कास्की, बागलुङ र तनहुँ छन् । समूह ‘बी’ मा पर्वत, स्याङ्जा र नवलपुर छन् ।

दुवै समूहका विजेताले फाइनल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत बुधबार भोलि बागलुङ र तनहुँबिच खेल हुनेछ । प्रतियोगिताबाट जेठ १७ गतेदेखि सुर्खेतमा हुने राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोलीसमेत छनोट गरिनेछ ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०६:५२

हजुरको प्रतिक्रिया