काठमाडौं ।
शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउँदो जुनमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाका लागि आज गिलको कप्तानीमा आज टोली घोषणा गरेको हो । टो
लीका उपकप्तानमा विकेटकीपर ब्याटर ऋषभ पन्त रहेका छन् । इङ्गल्यान्ड भ्रमणका लागि भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शनसम्म अटाउँदा मोहम्मद शमी भने परेका छैनन् ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि गिल कप्तानमा नियुक्त हुनुले भारतीय क्रिकेटमा नयाँ युगको शुरुआत भएको सङ्केत गर्दछ ।
सन् २०२२ को फेब्रुअरीदेखि भारतको नेतृत्व गरिरहेका रोहितसँगै विराट कोहली र रविचन्द्रन आश्विनले पनि टेस्टबाट बिदा लिएका छन् । २५ वर्षीय गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं कान्छा क्रिकेटर बनेका छन् ।
भारतीय टेस्ट टोलीमा कप्तान शुभमन गिल, यशस्वी जयसवाल, केएल राहुल, ऋषभ पन्त, ध्रुव जुरेल, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह छन् ।
यस्तै मोहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्णा, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, अर्शदीप सिंह पनि टोलीमा पर्न सफल भएका छन् ।
प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:४८




