पोखरा ।
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रधानाध्यापक संघ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।
सम्मेलनको तयारीका विषयमा शनिबार पोखरामा पत्रकार सम्मेलन गरेस संघले जानकारी दिएको छ । शिक्षा प्रणालीको गुणस्तर सुधार, नेतृत्व विकास, शिक्षक तथा प्रधानाध्यापकहरूको सशक्तिकरण र नीतिगत पैरवीमा भूमिका खेल्दै आएको संघले दोस्रो सम्मेलन पोखरामा गर्न लागेको पानका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौत्तमले जानकारी दिए ।
सम्मेलनमा करिब १ हजार प्रधानाध्यापक, शिक्षाविद्, पालिकाका प्रमुखहरू, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ । प्रत्येक वर्ष फरक–फरक प्रदेशमासम्मेलन गर्ने गरेको छ । पानमा हालसम्म १५ हजारभन्दा बढी प्रधानाध्यापक आबद्ध रहेका छन् ।
सम्मेलनमा अवार्ड समेत वितरण गरिनेछ । जसअन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक उत्कृष्ट आधारभूत तथा माध्यमिक विद्यालय, एक–एक जना प्रधानाध्यापक, र एक–एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका छनोट गरिनेछ । त्यस्तै, प्रत्येक प्रदेशबाट एक जना बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई पनि सम्मान गरिनेछ। छनोट प्रक्रिया शिक्षाविद् प्रा.डा. विद्यनाथ कोइरालाको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रूपमा गरिएको संघले जनाएको छ ।
सम्मेलनले “पोखरा घोषणापत्र” जारी गर्ने छ । पान गण्डकीका अध्यक्ष बामदेव पौडेलले संघले आगामी दिनमा विद्यालयहरूबीचको असमानता न्यूनीकरण, प्रविधि समावेशीकरण, र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै शिक्षा क्षेत्रमा दीगो परिवर्तन ल्याउने लक्ष्य लिएको बताए ।
प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:५६




