बागलुङ ।
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई संस्थागत गर्नका लागि युवालाई स्वदेशमै रोजगार दिनु पर्ने बताएका छन् ।
शुक्रबार बागलुङमा १८ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले राजनीतिक दल र नेताहरु सुध्रिनु पर्नेमा जोड दिए ।
सरकारको प्राथमिकता आम नागरिकको समस्या समाधान गर्नु पर्ने तर्फ हुनु पर्ने वक्ताहरुको भनाइ छ । पछिल्लो समय स्थानीय तहमा फजुल खर्च बढ्दै गएको र बेरुजुसमेत बढेको भन्दै यसलाई न्यूनिकरण गर्नु तर्फ जनप्रतिनिधि लाग्नु पर्ने उनीहरुले बताए । युवा विदेश पलायन भएपछि गाउँ रित्तिदै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।
देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था जहाँको त्यहीँ रहेको वक्ताहरुले गुनासो गरे । राजनीतिक दल र नेताको चरित्र सुधार नभए गणतन्त्र संकटमा पर्ने उनीहरुको भनाइ छ ।
नागरिकमा राजनीतिक दलप्रति वितृष्णा बढ्दै गएको वक्ताहरुले बताए । दुर दराजका नागरिकले अझै पनि सामान्य बिरामी हुँदा उपचार पाउन नसकेको गुनासो पोखे । अन्तरक्रियामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको कार्यक्रममा बागलुङको विकासका बारेमा समेत चर्चा भएको थियो ।
प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०८:०९




