बागलुङ ।
बागलुङका अग्रज पत्रकारले सत्यतथ्यमा आधारित रहेर निर्भिक पत्रकारिता गर्न नयाँ पुस्तालाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको सन्दर्भ पारेर नेपाल प्रेस युनियन बागलुङले शुक्रबार बिहान बागलुङमा आयोजना गरेको अग्रजसंग संवाद शृङ्खला उबेलाको पत्रकारिता विषयक कार्यक्रममा बोल्ने अग्रज पत्रकारहरुले निर्भिक पत्रकारिता गर्न नयाँ पुस्तालाई आग्रह गरेका हुन् । समाजलाई सही मार्गमा हिँडाउनका लागि पत्रकारको मुख्य भूमिका हुने भएकाले तथ्यमा रहेर खोज अनुसन्धानमूलक पत्रकारिता गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
उनीहरुले बागलुङमा पत्रकारिताको सुरुवात भएदेखिको अवस्था र आफुहरुको समयका पत्रकारिताका अनुभव सुनाएका थिए । अग्रज पत्रकार विश्वनाथ रेग्मीले विद्यामन्दिर माविका तत्कालिन प्रधानाध्यापक देवीलाल श्रेष्ठले आफुहरु विद्यामन्दिरमा माविमा ७ कक्षामा पढ्दा रेडियो बजाएर समाचार सुन्ने लगाएको स्मरण गरे ।
२०४० सालमा राष्ट्रिय समाचार समितिमा त्यो बेलामा आफुलाई दुई वर्षमा पारिश्रमिक बुझ्न काठमाडौं जाने गरेको उनले सुनाए । त्यतिबेलाको समयमा गाउँमा जाँदा हुलाक मार्फत समाचार पठाउने गरेको उनले स्मरण गरे । आफुले पत्रकारिता गर्दासम्म टेलिप्रिन्टर र टेलिफोनसम्म आएको उनले सुनाए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समिति सदस्य एवं बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले ०५५/५६ सालमा आफुहरुले गलेश्वर मन्दिरमा भएको हिनामिनाको समाचार लेख्दा सत्ता र शक्तिको आडमा आठ महिनासम्म तारिक बोकेर दुई रुपैयाँ जरिवाना तिरेको अनुभव सुनाए । पत्रकारिता पेशा आफैमा कठिन र संघर्षपूर्ण रहेको उनले सुनाए । उनले प्रजातान्त्रिक आन्दोलन अगाडि बढेसंगै बागलुङमा पत्रकारिताको विकास भएको स्मरण गरे ।
प्रज्ञा प्रतिष्ठान नेपालका पूर्व प्राज्ञ सदस्य प्रेम छोटाले आफुले बागलुङमा पत्रकारिता नगरे पनि इतिहास आफुले संकलन गरेर राखेको बताए । छोटाले संकलन गरेको धौलागिरिको ६ दशकीय पत्रकारिता विषयक संकलनका किताब प्रकाशित भएको छ । उनले पत्रकारिताले लुकेका र लुकाईएको कुराहरु उजागर गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०८:११




