भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामाको माग कायमै
काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
बैठक भोलि अपराह्न १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका हुन् ।
यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले संसद्मा अवरोध गर्दै आएका छन् । यद्यपि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तीनवटा माग अघि सारेका छन् ।
यसअघि आजै प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले श्रम ऐन २०६४ आएदेखि अहिलेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न माग गरेको थियो ।
प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार ०३:३२




