पोखरा ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।
खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सो कोन पोस्थित हङकङ रंगशालामा सुरु हुनेछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलअघि नेपालले हङकङ विरुद्ध खेल्न लागेको हो ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल र समग्रमा तेस्रो खेल खेल्न लागेको हो ।
उनको प्रशिक्षणमा नेपालले यसअघि खेलेका दुई खेलमा मिश्रित नतिजा निकालेको छ ।
सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित हात पारेको नेपाल एसियन कप छनोटमा भने मलेसियासँग पराजित भएको थियो ।
रोस नेपालको प्रशिक्षक बनेपछि नेपालले छोटो समयकै तयारीमा यसअघि दुई खेल खेल्नुपरेको थियो । तर यसपटक नेपालले नेपालले लामो समयको तयारी गर्दै दुई खेल खेल्न हङकङ पुगिसकेको छ ।
यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने बताएका छन् ।
बुधबार आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङ लाई नजिकबाट नियालेको बताए ।
प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास गरेको बताए ।
हङकङसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट एसियन कप छनोट खेल्न लाओस जानेछ ।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो। हङकङमा भएको सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो ।
प्रकाशित मिति २०८२ जेठ २३ गते बिहीबार ०९:२९




