२०८३ साउन २१ गते बिहीबार

अर्जेन्टिनालाई उपाधी : केहि तथ्य, केहि प्रसङ्ग

अर्जेन्टिनालाई उपाधी : केहि तथ्य, केहि प्रसङ्ग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २७ गते आइतबार ०९:३१

पाेखरा । अर्जेन्टिनाले २८ वर्षको कोपा अमेरिकाको उपाधि जित्दा विश्व फुटबलका हस्ती लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई उसैकाे घरेलु मैदानमा पराजित गर्दै...

फाइनलमा ब्राजिल १- ० गाेलअन्तरले पराजित

पाेखरा । अर्जेन्टिनाले २८ वर्षको कोपा अमेरिकाको उपाधि जित्दा विश्व फुटबलका हस्ती लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई उसैकाे घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसमेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अजेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधिसमेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो । तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्‍यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।

सर्वाधिक गाेलकर्ताकाे ट्रफिमा मेस्सी

यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । मेसी जारी प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी र सर्वाधिक गाेलकर्तासमेत बन्न सफल रहे । कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् भने मेसी नेमारसंगै काेपा २०२१ काे उत्कृष्ट प्लेअर घोषित भएका छन् ।

यस्तै, अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।

चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।

गत महिना मात्र अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका उनले यस प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ७ मध्ये ६ खेल खेलेका थिए ।

एञ्जल डि मारिया, जसले फाइनलमा ब्राजिलविरूद्द गाेल गरे 

मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्टसमेत गरे ।

मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु-२३ टिमले खेल्ने प्रतियोगिता थियो ।

ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा डि मारियाले २१ औं मिनेटमा गोल गरेका थिए । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

पहिलाे अन्तर्राष्ट्रिय उपाधी चुम्दै कप्तान लियाेनेल मेस्सी

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल पर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

अर्जेन्टिनाले ठूलो प्रतियोगितामा फाइनलमा गोल गरेको यो १६ वर्षपछि पहिलो हो । सन् २००५ मा अर्जेन्टिनाले पछिल्लो पटक गोल गरेको थियो । त्यो बेला कन्फेडेरेसन कपमा अर्जेन्टिना ब्राजिलसँगै पराजित भएको थियो ।

यसपटक कोपा शुरुमा कोलम्बिया र अर्जेन्टिनामै हुने तय थियो । तर अन्तिम समयमा आएर आयोजक परिवर्तन भएको थियो । कोलम्बियामा सरकारविरुद्धको प्रदर्शनपछि अर्जेन्टिनाले एक्लै आयोजना गर्ने तयारी गरिरहेको थियो । तर त्यहाँ कोभिड-१९ को संक्रमण दर बढ्दै गएपछि दक्षिण अेमरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले ब्राजिलमा कोपा गर्ने निर्णय गरेको थियो ।

शुरुमा ब्राजिलकै खेलाडीले विरोध गरे पनि पछि दक्षिण अमेरिकाका सबै १० टिले प्रतिस्पर्धा गरे । अर्जेन्टिनाले अपराजित रहँदै उपाधि जित्दा ६ खेल जित्यो । एक खेल भने बराबरी खेलेको थियो ।

 

प्रकाशित मिति २०७८ असार २७ गते आइतबार ०९:३१
हजुरको प्रतिक्रिया