कावासोती ।
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको चोरमारा बजारस्थित गिरबारी खोलामा रहेको पुलको मर्मत कार्य सम्पन्न भएसँगै यातायात पुनः सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पुल मर्मतपछि हिजो साँझदेखि सवारी साधन आवागमन सुरु गरिएको हो ।
गत २९ वैशाखमा होङ्सी सिमेन्ट उद्योगबाट कच्चा पदार्थ बोकेर वीरगञ्जतर्फ जाँदै गरेको १८ चक्के भारी मालवाहक सवारीको अत्यधिक भारका कारण पुल भासिएको थियो ।
त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा पुल मर्मतको जिम्मा जलप कन्स्ट्रक्सनलाई दिइएको थियो ।
पुलको भासिएको भागमा फलामका पाता फेरिएको र चिरा परेको थप भागलाई मर्मत गरी पुनः प्रयोग योग्य बनाइएको हो । तर, पुलको संरचना पुरानै भएकाले थप सावधानी अपनाइएको छ ।
४० टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई पुल पार गर्न रोक लगाइएको छ । यस्ता सवारीलाई दुम्किबासमै रोकिने व्यवस्था मिलाइएको छ ।
यस मर्मतपछि गिरबारी पुल फेरि सञ्चालनमा आए पनि अत्यधिक भारले फेरि क्षति पु¥याउने सम्भावना भएकाले स्थानिय तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०९:३९




