पोखरा ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृंखला अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
खेल डुन्डीको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । नेपाली टोलीले जारी शृंखला अन्तर्गत आज तेस्रो खेल खेल्न लागेको हो ।
नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधबार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो ।
लिग–२ को आफ्नो चौथो चरणको श्रृंखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ ।
पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिने लक्ष्यसाथ मैदान उत्रंदैछ ।
नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो ।
त्यस्तै नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।
जारी त्रिकोणात्मक सिरिजमा नेपाल १४ खेलमा १० अंकसहित सातौँ स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ ।
नेदरल्यान्ड्स २२ खेलमा २६ अंकका साथ दोश्रो स्थानमा र अमेरिका २० खेलमा २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।
प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार ०९:२६




