लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने
पोखरा ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।
३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए ।
उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे ।
उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।
स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए । ब्रान्डन म्याक मुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो ।
नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।
यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अंकसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।
१५ खेलमा १० अंकसहित नेपाल सातौं स्थानमा यथावत् छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो ।
लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।
लिग–२ को शीर्ष चारमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०९:२२




