पोखरा ।
नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।
पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको शोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ ।
प्रतियोगितामा दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड, एभरेष्ट भलिबल क्लब र स्टेप रामपुर पाल्पा सहभागि हुने भएको एकेडेमीका अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । त्रिभुवन आर्मीले अन्तिम समयमा उपस्थित हुन नसक्ने सूचना गरे पछि स्टेप रामपुर अन्तिम सयमा थप भएको हो ।
प्रतियोगितामा विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टोलीले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
५ दिनेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख खर्च हुने एकेडेमीले जनाएको छ । खेलाडीहरुलाई यातायात सहित आवासियको सुविधा एकेडेमीले उपलब्ध गराउने छ । पोखरा रंगशालाको कभर्डहलमा मंगलबार दिउसो दुई बजे गण्डकी प्रदेश र न्यू डायमन्डकाबिच उद्घाटन खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०८:१४




