एमालेको बहिष्कारका बीच मार्सल लगाएर विनियोजन विधेयक पास
पोखरा । विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर फालेका छन् ।
एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो ।
बिहान ११ बजे बैठक शुरु भयो । मुख्यमन्त्रीले जवाफ माग्दै एमालेले अवरोध गर्यो । साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध पर्यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् । एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।
त्यसका बाबजदु सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए भने बहुमतले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेको छ ।
बजेट १ असारमै आएको भए पनि रातो किताब तयार पार्न नसक्दा २७ गतेदेखि मात्र प्रदेशसभामा छलफल शुरु भएको थियो । गैर–बजेटरी विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गर्यो ।
दोस्रो दिनपछि बैठक अवरुद्ध भएपछि सरकार र प्रमुख प्रतिपक्षीबीच छानबिनका लागि संसदीय समिति गठन गर्ने सहमति भयो । प्रमुख प्रतिपक्षी दल एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने सहमतिसँगै अर्थ मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकलाई सम्बोधन गरेका थिए । उनले सोही दिन बजेट विनियोजन विधेयक पेश गरेका थिए ।
प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०६:०३




