काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्ने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।
त्यसैगरी बुधबार नै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
प्रकाशित मिति २०८२ जेठ २९ गते बुधबार ०९:१६




