पोखरा ।
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र टिप टप न्यू डायमण्ड स्पोट्र्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले स्टेप रामपुर क्लबलाई र न्यू डायमण्डले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरमाथि पहिलो सेट २५–७, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–९ को सहज जित निकाल्यो । न्यु डायमण्डले गण्डकी प्रदेशलाई पहिलो सेट २५–८, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–१२ ले जित निकाल्यो । यसअघि मंगलबार भएको खेलमा पुलिसले एपिएफ र न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार समूह चरणका अन्तिम दुई खेल हुनेछन् ।
पहिलो खेल स्टेप रामपुर क्लब र एपिएफबिच दिउँसो ३ बजे हुनेछ । भोलिको दोस्रो खेल गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबबिच हुनेछ । दुवै खेलका विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् । सर्वाेत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८२ जेठ २९ गते बुधबार ०७:३७




