पोखरा ।
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।
समूह चरणको अन्तिम खेल अन्तर्गत पहिलो खेल स्टेप रामपुर क्लब र एपिएफबीच हुँदैछ । यी दुई टिमबीचको खेल दिउँसो ३ बजे हुनेछ ।
त्यस्तै आजको दोस्रो खेल गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबबिच हुनेछ । दुवै खेलका विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
यसअघि हिजो भएको खेलबाट नेपाल पुलिस क्लब र टिप टप न्यू डायमण्ड स्पोट्र्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले स्टेप रामपुर क्लबलाई र न्यू डायमण्डले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरमाथि पहिलो सेट २५–७, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–९ को सहज जित निकाल्यो । न्यु डायमण्डले गण्डकी प्रदेशलाई पहिलो सेट २५–८, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–१२ ले जित निकाल्यो ।
यसअघि मंगलबार भएको खेलमा पुलिसले एपिएफ र न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् ।
सर्वाेत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०८:५६




